विराटनगर ,११ साउन । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई जथाभाबी सम्बन्धन दिने र विद्यार्थी भर्ना सिट तोक्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ । आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले सीटीईभीटीलाई नयाँ सम्बन्धन दिने, विद्यार्थी सिट सङ्ख्या तोक्ने, प्रवेश परीक्षा लिनेसम्बन्धी सूचना प्रकाशित गर्नेजस्ता कार्य नगर्न आग्रह गर्नुभएको हो ।
आयोगले यसअघि नै चिकित्सा शिक्षाको सम्बन्धनका लागि सिफारिस गरिसकेको, विद्यार्थी भर्नाका लागि सिट निर्धारण गरिसकेकाले सीटीईभीटीलाई फेरि पनि त्यस्तो कार्य नगर्न आग्रह गरेको हो। आयोगले चिकित्सा शिक्षातर्फको शैक्षिक सत्र २०८०र०८१ का लागि सिट निर्धारणसहितको विवरण प्रकाशित गरिसकेको उहाँले बताउनुभयो ।
आयोगबाट सम्बन्धन सिफारिस नभएका, आयोगबाट सिट सङ्ख्या निर्धारण नभएका शिक्षण संस्थामा चिकित्सा शिक्षाको पठनपाठनका लागि विद्यार्थी भर्ना गरेरगराएमा वा विद्यार्थी भर्ना भएका ती विद्यार्थीको उपाधि नेपाल स्वास्थ्य व्यवसायी परिषद्लगायत सम्बन्धित विषयगत काउन्सिलमा दर्तासमेत नहुने हुँदा त्यसप्रति सजग रहन अभिभावक, विद्यार्थी र सम्बन्धित शिक्षण संस्थालाई समेत आग्रह गरेको छ ।
अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्नका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने आयोगको कार्यकारी समितिले निर्णय गरेको सदस्य सचिव काप्रीले जानकारी दिनुभयो ।