राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ अन्तर्गत सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले नतिजा प्रकाशनको तयारीसँगै विद्यार्थीहरूले नतिजा हेर्न सक्ने विभिन्न माध्यमहरूको सूची पनि सार्वजनिक गरेको छ।
बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार कुनै प्राविधिक समस्या नआएमा एसईईको नतिजा बैशाख महिनाभित्रै सार्वजनिक गरिनेछ। उनले अबको चार दिनभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको जानकारी दिए।
परीक्षा नियन्त्रण कार्यालयले आइतबार जारी गरेको सूचनामा नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ।