विराटनगर । रमपम इडियु भिजिट प्रोग्राम अन्तर्गत मोरङको हरैचा मोडेल सेकेन्डरी इङलिस स्कुलका ७० जना विद्यार्थी र शिक्षकले शनिबार सोनापुरस्थित एसियन थाइ फुड्स प्रा. लि. को उद्योग परिसर भ्रमण गरेका छन्।
विद्यालयका अनुसार भ्रमणको उद्देश्य विद्यार्थीहरूलाई खाद्य उद्योगको आधुनिक प्रविधि, निर्यात योग्य उत्पादन मापदण्ड, स्वदेशमै उपलब्ध रोजगारीका सम्भावना र उद्यमशीलताको प्रत्यक्ष जानकारी दिने रहेको थियो।
भ्रमणका क्रममा कम्पनीका खाद्य विशेषज्ञ तथा उत्पादन प्रमुख समीर शाहले विद्यार्थीहरूलाई चाउचाउ उत्पादन प्रक्रियामा अपनाइने स्वच्छता, ISO प्रमाणित प्रणाली र कम्पनीका उत्पादनहरू रमपम, टु पिम रमेन नुडल्स र विभिन्न स्न्याक्स नेपालका सबै स्थान र ३२ भन्दा बढी देशहरूमा निर्यात भइरहेका जानकारी दिनुभयो।
मार्केटिङ अफिसर पवन शाहले भ्रमण टोलीलाई स्वागत गर्दै एसियन थाइ फुड्सले १५०० जना प्रत्यक्ष र हजारौं अप्रत्यक्ष रोजगार सिर्जना गरेको उल्लेख गर्नुभयो । यस्तो उद्योगले नेपाली युवालाई देशमै रोजगारीमा आकर्षित गर्ने काम गरिरहेको उहाँको भनाई छ।
मार्केटिङ अफिसर शाहले प्राविधिक तथा मार्केटिङ क्षेत्रमा उच्चस्तरीय अवसरहरू नेपालमै उपलब्ध रहेको र अध्ययनपछि विदेशभन्दा राम्रो सेवा सुविधा यहीँ प्राप्त गर्न सकिने सम्भावना बताउनु भयो।
उद्योगका निर्देशक महेश जाजुले शिक्षा र उद्योगबीचको सहकार्यलाई महत्वपूर्ण भन्दै यस्ता भ्रमण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। यस कार्यक्रमको संचालन निर्देशक आनन्द जाजुको निर्देशनमा भएको थियो।
यस्तो भ्रमणले विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरको व्यवहारिक ज्ञान दिनुका साथै उनीहरूको जिज्ञासा सम्बोधन र भविष्यको योजना बनाउन सहयोग पुग्ने विद्यालयका प्रतिनिधि शिक्षक भोला खतिवडाले बताउनुभयो ।
यस प्रकारको शैक्षिक कार्यक्रमले आफुहरुमा औद्योगिक ज्ञानको अभिवृद्धि हुनुका साथै देशमै उद्यमशीलताको सम्भावना पहिचान गर्न प्रेरणा दिएको भ्रमणमा सहभागी विद्यार्थीहरुले बताएका छन ।