.

बङ्गलादेशबाट झन्डै आठ सय जना नेपाली विद्यार्थी फर्किए, समस्यामा परेकाले अनलाइन आवेदन दिन सक्ने

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका झन्डै आठ सय जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । झन्डै आठ सय जना विद्यार्थी स्थल र हवाई मार्ग हुँदै नेपाल फर्कनको लागि बङ्गलादेश छाडिसकेका परराष्ट्र मन्त्रालयका शाखा अधिकृत महेश्वरमणि त्रिपाठीले जानकारी दिनुभयो । बङ्गलादेशका विभिन्न ठाउँबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकामा सुरक्षित यात्राका लागि समन्वय गरिरहेको बङ्गलादेशमा रहेको नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले सूचना निकालेर बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीको सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि 'हेल्प डेस्क' स्थापना गरेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाण्डौ ल्याइने बताउनुभएको छ । सम्बन्धित परिवारको माग अनुसार बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आज स्वदेश फर्काउने व्यवस्था मिलाएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गर्नुभएको छ । बङ्गलादेशमा झन्डै तीन हजार जना नेपाली विद्यार्थी रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारी जागिरमा रहेको कोटा प्रणालीकाविरुद्ध बङ्गलादेशमा विद्यार्थीले विगत एक हप्तादेखि आन्दोलन गर्दै आएका छन् । सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश अलग हुँदा लडाइँ गरेका व्यक्तिका सन्तान र विशिष्ट समूहका लागि सरकारी जागिरका एक तिहाइ पद आरक्षित रहेका छन् ।

यो व्यवस्था हटाएर योग्यताका आधारमा सरकारी जागिरमा भर्ना गर्नुपर्ने आन्दोलनरत विद्यार्थीको माग छ । आन्दोलनकारीमाथी प्रहरीले बल प्रयोग गर्दा अहिलेसम्म कम्तीमा एक सय २३ जनाको ज्यान गइसकेको समाचारसंस्था एएफपीले जनाएको छ । तर सरकारले टेलिफोन र इन्टरनेट सेवा बन्द गर्दा ज्यान गुमाउनेको विवरण संकलन गर्न समस्या भइरहेको छ । बङ्गलादेश सरकारले हिजोदेखी देशभर कर्फ्यू लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया