शिक्षक महासंघमा कांग्रेस र एमाले निकट शिक्षकबीच चरम विवाद, नेतृत्व चयन अनिश्चित
१४ वैशाख २०८१, शुक्रवार
0
प्रतिक्रिया
विराटनगर , १४ बैशाख । शिक्षक महासंघका दुई मुख्य घटक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघबीचको विवाद चुलिँदै गएको छ ।यी दुई संगठनबीचको असहमतिका कारण काठमाडौंको सुकेधारामा सोमबारदेखि बुधबारसम्म भएको दोस्रो महाधिवेशनले नयाँ नेतृत्व पाउन सकेन । महासंघको आन्तरिक विवादका कारण नयाँ कार्यसमिति बन्न नसकेपछि १७ गते घोषणा गर्ने भएको छ । महाधिवेशनको अघिल्लो दिन एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनले विज्ञप्ति जारी महाधिवेशनमा सहभागी नहुने जनाएको थियो । संगठनले पुरानो सदस्यताको आधारमा (७८ सालको) राखिएकाले मान्य नहुने, अध्यक्षता पाउनुपर्ने जिल्लाहरुमा नदिइएको र पालिका, जिल्ला, प्रदेशको अधिवेशन सकेर मात्रै महाधिवेशन हुनुपर्ने र त्यो नभएको अवस्थामा महाधिवेशनमा सहभागी हुन नसक्ने जनाएको थियो ।
नेपाली कांग्रेस निकटको नेपाल शिक्षक संघ भने जसरी पनि महाधिवेशन गराउनुपर्ने अडानमा छ ।नेपाल राष्ट्रिय शिक्षक संगठनको विरोधका बाबजुद युनियनका महासचिवसमेत रहेका संघ निकट शिक्षक लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा १० गते महाधिवेशन सुरु र्गयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनबाट प्रतिनिधित्व गर्ने महासंघकी अध्यक्ष कमला तुलाधर महाधिवेशनमा उपस्थित नभएपछि सहअध्यक्ष नानीमाया पराजुलीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो । महासंघको विधान अनुसार स्थानीय तह, जिल्ला, प्रदेशको अधिवेशन सकेर मात्रै केन्द्रको महाधिवेशन गर्नुपर्ने व्यवस्था छ भने सदस्य संख्याको आधारमा पहिलो हुनेले अध्यक्ष सहित ११ सिट पाउने, दोस्रो हुनेले महासचिवसहित ११ सिट पाउने, तेस्रो हुनेले सहअध्यक्ष लगायत पाउने, चौथो हुनेले कोषाध्यक्षसहितका सिट पाउने व्यवस्था छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीका अनुसार अहिलेसम्म ३२ वटा जिल्लामा मात्रै अधिवेशन भएको छ । त्यसैले विधान अनुसार बहुमत पुर्याउनको लागि पनि कम्तीमा ३९ वटा जिल्लामा अधिवेशन सक्नुपर्ने संगठनको तर्क छ ।
भएका ३२ वटा जिल्लामध्ये पनि ७ वटा जिल्लाको नेतृत्व चयनमा संगठनले असन्तुष्ट जनाइरहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापा बताउँछन् ।
झापा, चितवन लगायत केही जिल्लामा संघले एकलौटी तरिकाले आफ्नो उम्मेदवार चयन गरेको संगठनको आरोप छ ।
नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले केही जिल्लाका नेतृत्व चयनमा संगठनले असन्तुष्टि जनाए पनि त्यही कारण नेतृत्व चयन हुन नसकेको भने अस्वीकार गरे । १७ गते घोषणा सभाबारे भन्छन् ‘हाम्रो पद्धति अनुसार घोषणा सभा राखिएको हो । संगठनका केन्द्रीय अध्यक्ष भण्डारीले उठाइएको बुँदाहरुको चित्तबुझ्दो जवाफ पाए घोषणा सभामा जान तयार रहेको तर त्यसको लागि समय लाग्ने बताए ।