विराटनगर , १० असोज । विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
माइतीघर नयाँबानेश्वर सडकखण्डमा शिक्षकहरुले प्रदर्शन गर्दा केहीबेर सवारी आवागमन समेत प्रभावित हुने गरेको छ । प्रहरीले राहत शिक्षकको जारी आन्दोलनमा हस्तक्षेप गरेको छ ।
सरकारले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।
असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षकले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।
सोही क्रममा बुधबार निषेधित क्षेत्र तोड्न नदिन बार लगाएर बसेको प्रहरीले शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो ।शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?