.

दादुराबाट १६ जिल्लाका एक हजारभन्दा धेरै बालबालिका सङ्क्रमित

विराटनगर ३१ जेठ । दादुराबाट १६ जिल्लाका एक हजारभन्दा धेरै बालबालिका सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाण्डौ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराको संक्रमण पुष्टि भएको छ ।१६ जिल्लामध्ये बाँके, कैलाली, सुनसरी र महोत्तरीमा जोखिम धेरै रहेको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताउनुभयो । उहाँका अनुसार प्रकोप धेरै देखिएका यी चार जिल्लामा दादुरा विरुद्धको खोप लगाउन छुटेका २ लाख १५ हजार भन्दा धेरै बालबालिकालाई खोप दिइएको छ । छुटेका अन्य बालबालिकाको पनि खोजी भइरहेको छ ।

यस्तै, अहिले खोप अभियान चलिरहेको ९ जिल्ला  मोरङ, सुनसरी, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा पनि खोप लगाउन छुटेका बालबालिकाको खोजी भइरहेको छ । यी जिल्लाका १६ लाख ८० हजार भन्दा धेरै बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताउनुभयो । दादुराको संक्रमण भइसकेकालाई भने खोप दिनु हुँदैन । ज्वरो आउनु, नाकबाट सिँगान बगिरहनु, शरीरमा बिबिरा देखिनु दादुराको लक्षण भएकाले यस्ता लक्षण देखिने बित्तिकै स्वास्थ्य परीक्षण गराउन र डाक्टर तथा स्वास्थयकर्मीको सल्लाह अनसुार उपचार गर्न उहाँको सुझाव छ । 

यस्तै, दादुराको संक्रमण भएका बालबालिकालाई घरका अरु परिवारका सदस्य भन्दा छुट्टै राखेर हेरचाह र उपचार गर्न पनि डाक्टरको सल्लाह छ  । दादुरा निकै संक्रामक रोग भएकाले संक्रमितको हेरचाह र स्याहार गर्ने व्यक्तिलाई मास्क तथा पञ्जा लगाउन पनि डाक्टरको आग्रह छ । दादुरा रोकथामका लागि दादुरा विरुद्धको खोप नै उत्तम विकल्प भएकाले ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोपबाट नछुटाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गर्दै आएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया