देशभर ९४ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप
५ चैत २०८०, सोमवार
0
प्रतिक्रिया
विराटनगर , ५ चैत्र ।सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ९४ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार चैत ३ सम्म ५४ लाख ४२ हजार ४६९ जना बालबालिकाले दादुरा खोप लगाएका छन् ।
फागुन १३ देखि चैत ७ सम्म सञ्चालन हुने खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये खोप लक्ष्य राखिएको थियो । बाल तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले लक्ष्य अनुसारका बालबालिकालाई खोप पाउने दाबी गरे ।देशभरका बालबालिकामध्ये ५ देखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदैछ ।
नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको हो ।यस अभियानमा दादुरा रोगको लागि उच्च जोखिम भएका तराई २१ जिल्ला र काठमाडौं उपत्याका ३ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिका र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दिइँदै आएको छ । सरकारले सन् २०२३ सम्म दादुरा–रुबेलालाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा हुन नसकेपछि दोस्रोपटक सन् २०२६ सम्म शून्यमा झार्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिरहेको हो । यो खोप नेपालभरका ४८ हजार ७९८ केन्द्रबाट खोप दिँदै आएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशमा ५ लाख ९४ हजार जना बालबालिका खोप लगाइसकेका छन् ।दादुरा र रुबेला रोग सामन्यतयाः ५ वर्षमुनिका बालबालिकामा धेरै हुने र छिट्टै फैलिएर महामारीको जोखिम हुने विज्ञहरु बताउँछन् । दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग र मस्तिष्कमा समेत समस्या देखिन्छ । चिकित्सकहरूका अनुसार, दादुरा लागेपछि यसको उपचार छैन । तर, अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार उपचार गर्नुपर्छ । दादुराको उपचार नभए बिरामीको मृत्यु समेत हुन सक्ने हुदा अनिवार्य रुपमा बालबालिकालाई खोप लगाउन नेपाल सरकारले अनुरोध गरेको छ ।