.

केरामा देखिएको पानामा रोगको प्रजाति टीआर–४ को थप अनुसन्धानका लागि समिति गठन

विराटनगर , ८ भदौ ।  केरामा लाग्ने पानामा रोगको प्रजाती टीआर–४ नेपालमा पहिलो पटक देखिएपछि सरकारले थप अनुसन्धान र रोकथामका लागि समिति गठन गरेको छ ।


नार्कका बाली रोग वैज्ञानिक डा। रामबहादुर खड्काको संयोजकत्वमा गठित समितिमा प्रकाश पौडेल, वसन्त चालिसे, राजीवराज भण्डारी, देवराज अधिकारी, वशिष्ठ आचार्य र संयम पण्डित सदस्य हुनुहुन्छ ।


समितिले रोग देखिएको कैलालीको टीकापुरमा पुगेर सरोकारवालाहरुसँग छलफल एवम् निरीक्षण गरी थप जानकारी सङ्कलन गर्ने कृषि विभागका महानिर्देशक डा।हरिबहादुर केसीले जानकारी दिनुभयो ।


डा। रामबहादुर खड्कासहितको टोलीले झण्डै आठ हजार केराका बोटको अवलोकन र अनुसन्धानपछि रोग पुष्टि भएको हो । कैलालीको टीकापुर क्षेत्रमा पानामा रोगको प्रजाति टीआर–४ देखा परेपछि किसान चिन्तित भएका छन् ।


केरा व्यवसायी महासङ्घ कैलालीका उपाध्यक्ष टेकेन्द्र धामीले केरामा पानामा प्रजातिको रोग पुष्टि भएपछि किसान चिन्तित बनेका बताउनुभयो । उहाँले लाखौँ लगानी गरेर गरिएको खेतीमा सङ्क्रामक रोग देखिएपछि केराखेतीबाट विस्थापित हुनुपर्ने चिन्तामा किसान रहेका बताउनुभयो ।


रानी जमरा कुलरिया सिँचाइ आयोजना कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख कलशराम चौधरीले केरामा देखिएको पानामा रोगको सङ्क्रमणले किसान केरा खेतीबाट विस्थापित हुने अवस्था आएको बताउनुभयो । उहाँले आयोजनाले केरा खेतीका लागि सिँचाइको क्षेत्रमा ठूलो लगानी गरेको बताउँदै रोगको न्यूनीकरणका लागि सम्बन्धित निकायसँग छलफल चलाइएको बताउनुभयो । उहाँका अनुसार आयोजनाले वार्षिक करोडौँ रकम केराखेती विस्तारका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ । पानामा रोग केरा खेतीमा लाग्ने एक प्रकारको सङ्क्रामक ढुसीजन्य रोग हो ।


यो रोग पहिलो पटक अस्ट्रेलियामा सन् १९९७ मा देखिएको थियो । यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुन्छ । त्यसपछि, पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिन्छन् । थाम ठाडो चिरेरभित्र हेर्दा खैरो गानाबाट टुप्पातिर फैलिएको देखिन्छ । जराहरू कालो हुन्छन् र सड्छन् ।


सङ्क्रमण देखिएको केराबारीमा प्रयोग भएको औजार, गाडीको चक्का, मानिसको ओहोरदोहोरबाट पनि रोग सर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन बाली रोग वैज्ञानिक खड्काको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया