नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
३२ साउन २०८०, बिहिवार
0
प्रतिक्रिया
विराटनगर , ३२ साउन। नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ। सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थाएको छ।
नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ। प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ।
हाललाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरुको भनाइ छ।
नेपाल विद्युत प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभिएन बङ्गलादेश निर्यातका लागि सहमति गरिसकेको छ। सोही संस्थामार्फत नेपालको बिजुली बङ्गलादेश पुग्नेछ। बिजुली निर्यातका लागि आवश्यक सहमति भएको र केही विषय बाँकी रहेपनि त्यसलाई छिट्टै टुङ्गोमा पुर्याइने प्राधिकरणका प्रबल अधिकारीले जानकारी दिए ।
नेपालबाट खरिद गर्ने बिजुलीको खरिद दरका विषयमा आवश्यक निर्णय गर्न एक समिति आवश्यकपर्ने बङ्गलादेशको नियम रहेको छ । सो समितिमा रहने सदस्यको नाम समेत प्रस्ताव भइसकेको बङ्गलादेशले जानकारी गराइसकेको छ। लगानी बोर्डको प्रस्तावमा सरकारले आयोजनाको म्याद अन्तिम पटक दुई वर्षका लागि थप गरेपनि हालसम्म कुनै प्रगति हुनसकेको छैन ।
नेपाल र बङ्गलादेशबीच भारतीय भूमि प्रयोग गरेर ‘डेडिकेटेड’ रुपमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमासमेत सहमति भएको छ।
नेपालको प्राधिकरण र बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच सहमति गरेर छिट्टै बिजुली निर्यातका लागि आवश्यक निर्णय गर्ने तयारी गरिएको छ।