देशभरका पालिकाले धमाधम आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन् ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित पालिकाले प्रविष्ट गरेको विवरणका आधारमा आजसम्म ६४ वटा पालिकाले बजेट सार्वजनिक गरिसकेका छन् ।
धेरै पालिकाहरूले आज बजेट सार्वजनिक गर्दैछन् । असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार पालिकाहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्छ ।
बजेटमाथि कार्य तालिका बनाई १५ दिनभित्र गरेपछि सभाले बजेट पारित गर्न वा सुझावसहित कार्यपालिकामा पठाउन सक्नेछ । सुझावसहित प्राप्त भएको बजेटमाथि कार्यपालिकाले पुनः विचार गरी आवश्यक परिमार्जनसहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित सभामा पाँच दिनभित्र पुनः पेश गर्नुपर्ने हुन्छ ।
यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ ।