.

ग्यास लिन उपभोक्ताको भीड, मोरङमा अभाव नभएको उद्योगीको दाबी

मोरङका विभिन्न स्थानमा खाना पकाउने ग्यासका लागि डिलरहरूमा उपभोक्ताको भीड लाग्न थालेको छ। सरकार र ग्यास व्यवसायीबीच बिहीबार भएको छलफलपछि शुक्रबारदेखि आपूर्ति सहज बनाउन आधा सिलिन्डर (७.१ केजी) ग्यास उपलब्ध गराउने सहमति भएसँगै विराटनगरका डिलरहरूमा बिहानैदेखि खाली सिलिन्डर बोकेर उपभोक्ता पुगेका छन्।

कोशी प्रदेशदेखि मधेश प्रदेशको सिराहासम्म आपूर्ति गर्दै आएको कोशी ग्यासका प्रबन्धक सचित उपाध्यायले भने बजारमा एलपीजी ग्यासको अभाव नभएको बताए। विश्वको वर्तमान परिस्थितिलाई हेरेर उपभोक्ताले घरमा ग्यास सञ्चित गर्ने प्रवृत्तिले गर्दा बजारमा केही समस्या देखिएको उनको भनाइ छ।

कोशी ग्यासले मात्र आफ्नो क्षेत्रमा मासिक २ लाख सिलिन्डर र विराटनगरमा मात्रै मासिक ४० हजार सिलिन्डर खपत गर्दै आएको उनले जानकारी दिए।

यता एलपीजी ग्यास विक्रेता संघ मोरङका पूर्व अध्यक्ष गणेश साहले भने बजारमा देखिएको समस्यामा सरकारी निकायको कमजोरी रहेको बताए। एकै घरमा ५ देखि ७ वटासम्म ग्यास सिलिन्डर सञ्चित गर्ने प्रवृत्ति हटाउन वाणिज्य कार्यालय र सरकारी निकाय उदासिन देखिएको उनको आरोप छ।

विगतमा नाकाबन्दीका बेला कार्ड प्रणाली सुरु गरिए पनि पछि त्यसलाई निरन्तरता नदिँदा अहिले समस्या बल्झिएको उनले बताए। विराटनगरमा हाल कोशी, सुविधा, त्रिशक्ति, प्रिमा, कन्काई, मेची र रिजाल लगायत १० वटा ग्यास कम्पनीको उत्पादन बिक्री वितरण हुँदै आएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया