सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकलाई दोहोरो, तेहरो पदको जिम्मेबारी नलिन निर्देशन दिएको छ ।
विभागले सहकारी ऐनको व्यवस्था अनुसार एक व्यक्ति एक पटकमा एक पदमा मात्र हुनु पर्ने व्यवस्थाको कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
विभागले सोमबार निर्णय गर्दै सहकारी ऐन, २०७४ को दफा ४१ (५) मा रहेको कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था र दफा ४४ (१) को खण्ड (ग) मा रहेको कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन नसक्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
राष्ट्रिय सहकारी बैंकदेखि सहकारी संघहरूमा रहेको दोहोरो पदको सन्दर्भमा कानुनको पालना नभएको विषयमा समाचार आएपछि विभागले उक्त निर्देशन जारी गरेको हो ।
कानुन तथा नियमनकारी निकायका निर्देशन परिपालना गर्नु, स्वार्थको द्वन्द्वका कारणले हुन सक्ने स्रोतको दुरुपयोग रोक्नु, सञ्चालक समितिको कानुन बमोजिम वैधानिकता कायम राख्नु पर्ने सवालमा सबै सचेत र सजग हुनुपर्ने विभागले जनाएको छ ।
सहकारी संस्थाहरूको नियमनको भूमिकामा रहेका सबै नियमनकारी निकायहरूले अनुगमन, निरीक्षण, नियमन तथा सुपरीवेक्षणको क्रममा उल्लेखित कानुनी प्रावधानको परिपालना अवस्था हेरी परिपालना नभएको पाइएमा सहकारी ऐन र नियमावली अनुसार कारबाही गर्न विभागले भनेको छ ।