विराटनगर २२ असोज । धनकुटा नगरपालिकाले हतारमा एभोकाडो टिपेर बजार नपुर्याउन किसानसँग आग्रह गरेको छ । किसानले कलिलै टिपेर बेच्न थालेको गुनासो आएपछि नगरपालिकाले चासो दिएको हो ।
सिजनअगावै बजारमा छ्यापछ्याप्ती एभोकाडो पुर्याएपछि नगरपालिकाले ब्राण्डिङमा असर गर्ने भन्दै सार्वजनिक सूचना जारी गरेको हो । समयअगावै फल टिप्न थालेपछि गुणस्तरमै प्रश्न उठ्ने डरले नगरपालिकाले किसानलाई सतर्कता अपनाउन अनुरोध गरेको हो ।
फल परिपक्व भएपछि मात्रै बेच्न किसान, व्यापारी र उद्यमीलाई अनुरोध गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए ।
धनकुटाका अधिकांश घरमा एभोकाडो लगाइएको छ । ५ वर्ष पहिले नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गर्दै किसानलाई एभोकाडो खेतीमा आकर्षित गरेको थियो ।एभोकाडो परिपक्व भएको फल कसरी चिन्ने, फलको टिपाइ भण्डारण, ग्रेडिङ, प्याकेजिङ र लेवलिङबारे किसानलाई नगरपालिकाले सार्वजनिक सूचना मै जानकारी दिएको छ ।
पालिकाभित्र रामो उत्पादन हुन थालेपछि २०७५ वैशाखमा पहिलो पटक धनकुटाले एभोकाडो राजधानी घोषणा गरेको थियो । फलको नामबाट उत्सव मनाएको पालिकाले यसअघि यसको सम्भाव्यता अध्ययन गरेर किसानको आर्थिक उपार्जनमा थप टेवा पुग्ने गरी कार्यक्रम घोषणा गरिएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए ।
उनका अनुसार एक हजार ९६३ घरधुरीबाट शुरू भएको एभोकाडो खेती हाल ४ हजार ९२६ परिवारसम्म पुगेको छ । पालिकाभित्र ४ हजार ४० रोपनीमा भइरहेको खेती विस्तार भएर १२ हजार ९९ सय रोपनीमा पुगेको छ ।
२०७५ सालमा नगरपालिका भित्रबाट २३ लाख ३२ हजारको एभोकाडो बिक्री भएको तथ्याङ्क थियो भने २०७८ सालमा ३ करोड १९ लाखको एभोकाडो बिक्री भएको अधिकारीले जानकारी दिए ।
एक पटक रोपेपछि वर्षौंसम्म उत्पादन दिने यस फलप्रति किसानहरूको आकर्षण बढिरहेको गरपालिकाले जनाएको छ ।
पालिका क्षेत्र भित्रका किसानलाई एभोकाडोको नर्सरी व्यवस्थापनदेखि बिरुवा र एभोकाडो जुस पसल सञ्चालन गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ ।
धनकुटाको एभोकाडो धरान, इटहरी, विराटनगरसँगै काठमाडौँको बजारसम्म पुग्ने थालेका छन् । अहिले व्यवसायीले किसानको बगैँचामै पुगेर एभोकाडो खरिद गर्न थालेका छन् । नगरपालिकाले भने एभोकाडोलाई व्रान्डीङ गर्ने तयारी गरेको छ ।