.

धितोपत्र ब्रोकरको नयाँ लाइलेन्स प्रक्रिया खुला गर्न अर्थ समितिको निर्देशन

विराटनगर ५ असार । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । आज बिहान सिंहदरबारमा बसेको समिति बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया सुचारु गर्न अर्थमन्त्रालयमार्फत् धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय गरेको हो ।

यसअघि ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको समितिले बोर्डसँग छलफल गरेपछि प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । समिति सभापति सन्तोष चालिसेले यस विषयमा देखिएका अस्पष्टता हटेकाले प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताउनुभयो ।

बैठकले धितोपत्र दलाल र व्यापारिलाई मापदण्ड पुगेको अवस्थामा मात्रै अनुमति पत्र दिनका लागि अर्थमन्त्रालयमार्फत् धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय भएको चालिसेले बताउनुभयो।

बैठकमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले तोकिएको मापदण्ड र प्रक्रिया पुरा गरेकालाई अनुमति दिने जानकारी दिनुभयो ।

अनुमति पत्र दिने निर्णय व्यक्तिगत नभई सञ्चालक समितिको भएको भन्दै पारदर्शीतालाई ध्यानमा राखिएको उहाँले बताउनुभयो। उहाँले लामो समयदेखिको सिण्डिकेट वा कोटा सिस्टमलाई अन्त्य गर्दा केहिको बिरोध र उजुरी आउनु स्वभाविक रहेको भन्दै नियत र काममा कुनै कमि कमजोरी भए सजाय भोग्न तयार रहेको उल्लेख गर्नुभयो।

यस्तै, बैठकमा समिति सदस्यहरुले ऐन र नियममा टेकेर हुने राम्रा कामको सधै समर्थन रहने भन्दै विवादीत विषयमा स्पष्टताका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । बोर्डका कामकारवाहीहरु पारदर्शीताका साथ अघि बढाउनुपर्नेमा उहाँहरुको जोड थियो ।

धितोपत्र बोर्डले ४३ वटा ब्रोकरलाई आशयपत्र दिएको र १८ वटालाई सञ्चालनको अनुमति पनि दिइसकेको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया