.

भारतमा राज्यस्तरीय निर्वाचन सुरुः पश्चिम बंगाल र तमिल नाडुमा आज मतदान

भारतमा आज बिहीबारदेखि महत्त्वपूर्ण मानिएका राज्यस्तरीय निर्वाचनका लागि मतदान सुरु भएको छ। विशेषगरी पश्चिम बंगाल र तमिल नाडुमा भइरहेको यो प्रतिस्पर्धालाई भारतीय राजनीतिमा निकै चासोका साथ हेरिएको छ।

पश्चिम बंगालमा पहिलो चरण अन्तर्गत १६ जिल्लाका १५२ सिटका लागि आज मतदान भइरहेको छ। यस चरणमा १ हजार ४ सय ७८ उम्मेदवार चुनावी मैदानमा छन्। मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको तृणमूल कंग्रेस (टीएमसी) लगातार चौथो कार्यकालका लागि प्रयासरत छ भने भारतीय जनता पार्टी (भाजपा) पहिलोपटक सत्ता कब्जा गर्ने दाउमा छ। पश्चिम बंगालमा दोस्रो चरणको मतदान आगामी अप्रिल २९ मा हुनेछ।

त्यसैगरी, तमिल नाडुका सबै २३४ सिटका लागि आज एकै चरणमा मतदान भइरहेको छ। यहाँ मुख्य प्रतिस्पर्धा मुख्यमन्त्री एमके स्टालिन नेतृत्वको डीएमके र विपक्षी एआईएडीएमकेबीच देखिएको छ। यसपटक तमिल सुपरस्टार विजयको नयाँ पार्टी ‘तमिलगा वेत्री कझगम’ (टीभीके) को प्रवेशले निर्वाचनलाई थप रोचक बनाएको छ।

निर्वाचनको पूर्वसन्ध्यामा पश्चिम बंगालमा मतदाता सूची परिमार्जनलाई लिएर ठूलो विवाद उत्पन्न भएको छ। विशेष सघन परिमार्जन (एसआईआर) पछि करिब ९१ लाख मतदाताको नाम सूचीबाट हटाइएको छ, जुन राज्यको कुल मतदाताको करिब १२ प्रतिशत हो। निर्वाचन आयोगले डुप्लिकेट, मृतक र बसाइँ सरेकाहरूको नाम हटाइएको दाबी गरे पनि टीएमसीले यसलाई लक्षित गरी गरिएको कदम भन्दै विरोध जनाएको छ। केरला, आसाम र पुडुचेरीमा भने यसअघि नै मतदान भइसकेको छ। सबै राज्यको मतगणना मे ४ मा हुनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया