विराट गोल्डकपको मिति तय
चैत २८ देखि हुने दशौं संस्करणको विराट गोल्डकप’ प्रतियोगिताको कमान्ड ट्रष्ट आफैंले सम्हाल्ने, १० टिमको सहभागिता
विराटनगरको ऐतिहासिक दशौं संस्करणको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिता आगामी चैत २८ गतेदेखि सुरु हुने भएको छ । यस वर्षको प्रतियोगिता विराट गोल्डकप फुटबल ट्रष्ट आफैंले आयोजना गर्ने भएको हो ।
विगतका केही संस्करणमा ट्रष्टले उद्योगी–व्यवसायीलाई संयोजक तोकेर प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यसपटक भने आफैं सक्रिय हुन लागेको हो । ट्रष्टका प्रवक्ता धनकुमार लामाका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) बाट प्रतियोगिताको मिति सुनिश्चित भइसकेको छ । उनका अनुसार भारतको कोलकाताबाट आउने टिमको सहभागिता निश्चित भइसकेको छ ।
वि.सं. २०१८ सालदेखि ‘महेन्द्र गोल्डकप’ को नामबाट विराटनगरको सहिद मैदानमा सुरु भएको यो प्रतियोगिता २०६८ सालदेखि ‘विराट गोल्डकप’ मा रूपान्तरण भएको हो । यद्यपि, यसपटक विगतका कमीकमजोरी सुधार्दै ट्रष्ट आफैंले ऐतिहासिक गरिमा जोगाउन तयारी थालेको वर्तमान अध्यक्ष किशोरबहादुर शाहीले बताए ।