.

भोजपुरको मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा

विराटनगर , ३० साउन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचार–प्रसारको कमीले ओझेलमा परेको हो ।

यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीयवासी शिवकुमार विष्टले बताए ।  सुन्दर स्थलमा रहेको यो देवस्थल प्रसार–प्रसारको कमीले ओझेलमा परेको उहाँको भनाइ छ ।

यसको  महत्वलाई देश–विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ । यो स्थानमा तिज, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी तथा विभिन्न अवसरमा मेला लाग्ने गरेको छ । 

चिताएको पुग्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ आउने गरेको स्थानीयवासी गोरखबहादुर विष्टले बताउनुभयो । मन्दिर स्थापनासँगै संरक्षणको काम गरेपछि तयहाँ आउने मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएको उहाँको भनाइ छ ।

प्राकृतिकरूपमा निकै सुन्दर मानिने यो ठाउँको विकासमा मन्दिर स्थापनाले टेवा पुगेको स्थानीयवासीको भनाइ छ । गाउँपालिका र वडा कार्यालयको रु तीन  लाख लागत र स्थानीयले श्रमदान गरेर यहाँ मन्दिर निर्माणसँगै आवश्यक संरक्षणको काम गरेका हुन् । गाउँपालिकाभित्रका  धार्मिक तथा ऐतिहासिक क्षेत्रको पहिचान गरेर विकासका लागि काम गर्ने गाउँपालिकाले जनाएको छ ।

यो ठाउँको  शिरमा प्रसिद्ध धार्मिकस्थल टेम्केडाँडा रहेकाले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने टेम्केमैयुङ–५ का वडाध्यक्ष सुनिल राईले बताए ।

मन्दिर निर्माण तथा संरक्षणले आन्तरिक तथा बाह्य पर्यकटसमेत वृद्धि हुने वडाध्यक्ष राईको भनाइ छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन गाउँपालिकाले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया