.

कोशीमा कांग्रेसका थप ५ सांसद केदारको पक्षमा खुल्दै, दलको नेता फेर्न कसरत

विराटनगर , २६ असोज । इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनको नेतृत्वले गरेको निर्णयविरुद्ध असन्तुष्टि जनाएर कोशीको मुख्यमन्त्रीको दाबी पेश गरेका केदार कार्कीको पक्षमा नेपाली कांग्रेसका थप सांसद खुल्ने तयारीमा छन् ।


संघीय सांसद सुनिल शर्मा र दीपक खड्काको अगुवाइमा थप ५ प्रदेशसभा सदस्यले केदारलाई साथ दिने तयारी गरेका हुन् । यसका लागि आवश्यक तयारी पूरा भएको केदार कार्कीनिकट स्रोतले नेपाल प्रेसलाई बतायो ।


शेखर पक्षका कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेसँग समीकरण बनाएर बिहीबार कांग्रेसका ८ जना प्रदेश सांसदले हस्ताक्षर गरेका थिए । बेलुका संसदीय दलका उपनेताबाट राजीनामा दिएर हिमाल कार्की पनि मिसिएका थिए ।


शुक्रबार ओखलढुंगाका प्रदीप सुनुवारलगायतका प्रदेश सांसदहरू केदार कार्कीको पक्षमा खुल्न लागेका हुन् । त्यसका लागि हस्ताक्षर संकलनको कागज बनिसकेको बताइएको छ ।


स्रोतले भन्यो, ‘उहाँहरू बाहिर भएकाले केहीबेरमा हस्ताक्षर गराउने तयारी भइरहेको छ । हस्ताक्षर गराउन शर्मा र खड्का लागेका छन् ।’


उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउने गरेको निर्णयमा उद्धव थापाले समेत साथ दिएको भन्दै दलको नेता फेर्नेसम्मको कसरत सुरू गरेका छन् ।


केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका प्रदेशसभा सदस्य शमसेर राईले थापाले दलमा छलफल नगरी बाहिर(बाहिर छलफल गरेको आरोप लगाए । कोशीमा कांग्रेसका जम्मा २९ सांसद छन् । ५ जना थपिँदा केदार पक्षमा १४ जना पुग्छन् । जुन ५० प्रतिशत हो ।


राईले भने, ‘कांग्रेसकै मुख्यमन्त्री बन्ने अवस्थामा माओवादीलाई सुम्पिएर उद्धव थापाले दलको नेता बनेर पार्टीलाई फाइदा हुँदैन ।’

कोशीमा कांग्रेसका थप ५ सांसद केदारको पक्षमा खुल्दै, दलको नेता फेर्न कसरत सुमन पुरी

कोशीमा कांग्रेसका थप ५ सांसद केदारको पक्षमा खुल्दै, दलको नेता फेर्न कसरत

सुमन पुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया