२४ भदौ, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका छन् ।
शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले डीएसपी लिम्बू र उनको परिवारको ज्यान मार्ने धम्की दिएका हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा हाङगामले भनेका छन्, ‘सक्छस् भने यहीँ आइज, म लुगा खोल्न तयार छु, खेल्न सक्छस् भने आइज, तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस्, तलाई म तीन सेकेण्ड पनि राख्दिन बाँकी ।’ राजनीति उखरमाउलो किसिमले तातिएको बेला आफूहरु मान्छे मार्न पनि नडराउने उनको धम्की थियो ।
कांग्रेस सांसद हाङगाम गत वर्ष मंसिरमा भएको प्रदेशसभा निर्वाचनबाट ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १९१० बाट कोशी प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी तरुण दल ताप्लेजुङको अध्यक्ष, कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि हुन् ।
बिहीबार राति ताप्लेजुङमा मिनी मेला सकिएपछि प्रहरी र हाङगामका कार्यकर्ताबीच विवाद भएको थियो । कांग्रेस कार्यकर्ता पेमा लामालाई प्रहरीले कुटपिट गरेपछि हाङगामका कार्यकर्ता प्रहरीमाथि जाइलागेको थियो ।
विवादपछि बिहीबार राति करिब साढे १० बजे प्रहरी टोली सांसद हाङगामको फुङ्लिङ नगरपालिका–५ स्थित घरमा पुगेको थियो । जसको भिडियो सांसद हाङगामको सचिवालयले सामाजिक सञ्जालमा राखेको छ । प्रहरी टोलीले घरको गेटमा लात्तीले हानेको भिडियोमा देखिन्छ ।
घरमा हुलहुज्जत गरेको विरोधमा शुक्रबार हाङगामका कार्यकर्ताले फुङलिङ बजार केही समय बन्द गरे । जिल्ला प्रहरी कार्यालयमा पनि ढुंगामुढा गरे । ढुंगामुढा गर्ने टोलीलाई लखेट्न प्रहरीले अश्रुग्यास र हवाइ फायर पनि गरेको थियो । त्यसपछिको कोणसभामा हाङगामले आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् ।
यो अभिव्यक्तिको भिडियो सार्वजनिक भएपछि सांसद हाङगामको आलोचना भइरहेको छ । सांसद हाङगाम भने मध्यरातमा डीएसपी लिम्बूले आफूलाई मार्न टोली पठाएकाले आफूले सार्वजनिक मञ्चबाट चुनौती दिएको खुलेआम स्वीकार गर्छन् ।
सुरुमा प्रहरीले आफूलाई आक्रमणको प्रयास गरेको दाबी गर्दै हाङगाम भन्छन्, ‘इँटाको जवाफ मैले पत्थरले दिएको हो, मलाई मार्न डीएसपीले मेरो घरमा मान्छे पठाए, विराटनगरमा मार्छु भनेका छन्, गाली पनि गरेका छन् ।’
आफ्नो घरमा प्रहरी टोली आएपछि विवादको सुरुवात भएको बताएका हाङगामले डीएसपीले आफूलाई सुरक्षा दिनुपर्नेमा ‘हान्न’ टोली पठाएको जिकिर गरे ।
नेपाल तरुण दलले प्रहरीले प्रदेशसभा सदस्य हाङगामको घर घेराउ गरी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेक दाबी गरेको छ । अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा ताप्लेजुङमा अराजक र आपराधिक प्रवृत्ति देखाएको, डर, धाक, धम्की देखाएको र जिल्लामा त्रास सिर्जना गरेको भन्दै जिल्ला प्रशासन प्रमुख ९प्रमुख जिल्ला अधिकारी०, प्रहरी प्रमुख राजन लिम्बू र सांसद लिम्बूको घर घेराउमा जाने प्रहरी निरीक्षकलाई निलम्बन गर्न माग गरिएको छ ।
प्रदेश सांसद हाङगामले डीएसपीको सरुवाको पनि माग गरेका छन् ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार बिहीबार राति नियमित गस्तीमा रहेको प्रहरी टोलीमाथि बाटोमा बसेका केही व्यक्तिले दुव्र्यवहार गरेका थिए । विवाद बढ्दै गएपछि प्रहरीको थप मद्दत टोली पनि पुगेको र राति जम्मा भएको समूहले प्रहरीको हतियार खोस्ने प्रयास डीएसपी लिम्बूले बताए । ताप्लेजुङका प्रहरी प्रमुख लिम्बूले प्रदेशसभा सदस्यको अभिव्यक्ति उचित नरहेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?