मोरङको बुढीगंगा गाउँपालिकामा जारी ‘प्रथम बुढीगंगा गाोल्डकप’ फुटबल प्रतियोगितामा झापाको चात्या सा फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा पुगेको छ ।
बुढीगंगा–२ अमाहीमा भएको खेलमा झापाले धनकुटाको रारा फुटबल क्लबलाई ४–० गोल अन्तरमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।खेलको १७ औँ मिनेटमा झापाका रुजन न्यौपाने गोल गर्दै अग्रता दिलाए । ३० औँ मिनेटमा झापाका आशिष चापागाईं गोल गर्दै टोलीका गोल संख्या दोब्बर बनाए । झापाका लागि रिचर्ड विल्सनले ३८ र ८० औँ मिनेटमा गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याए । रिचर्ड प्लेयर अफ द म्याच भए ।
प्रतियोगिताअन्तर्गत सोमबार (आज)को खेल आयोजक बुढीगंगा पालिका टिम र सुनसरीको धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
चैत २७ गतेसम्म हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टोलीको सहभागिता रहेको छ । जसमा आयोजक पालिका बुढीगंगा, सिरहाको सलहेश युवा क्लब, धनकुटाको रारा फुटबल क्लब, सुनसरीको धरान फुटबल क्लब, झापाको चात्या सा फुटबल क्लब, काठमाडौंको आरआइएफसी, काठमाडौंको जस्ट जोन फुटबल क्लब (नाइजेरिया) र भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।