कोशी प्रदेशको राजधानी विराटनगरको प्रतिष्ठा र पहिचानसँग जोडिँदै आएको ऐतिहासिक ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको ३८औँ संस्करण यही चैत २८ गतेदेखि सुरु हुने भएको छ ।
विराटनगरमा गोल्डकपको चहलपहल सुरु भइसकेको छ । सहिद रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपमा नेपाल र भारतका उत्कृष्ट ८ टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
आयोजक विराट गोल्डकप ट्रष्टका अनुसार प्रतियोगिताको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । रंगशालामा आवश्यक पूर्वाधार व्यवस्थापन, खेल तालिका, सुरक्षा प्रबन्ध र दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउन तीव्र गतिमा काम भइरहेको हो ।
विशेषगरी, विराटनगरमा पहिलोपटक बाँसको फ्रेमबाट सुरु गरिएको फ्लड लाइटको प्रयोग अहिले स्थायी संरचनामा रूपान्तरण भइसकेको छ । जसले रात्रिकालीन फुटबल प्रतियोगिता सञ्चालनलाई थप व्यवस्थित र आकर्षक बनाएको छ ।
यस वर्षको प्रतियोगितामा नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ क्लब)सहित झापा–११, मच्छिन्द्र क्लब, चर्च ब्वाईज युनाइटेड, सम्राट स्पोर्टिङ क्लब तथा भारत झारखण्डको अल झारखण्ड बिर्सा मुन्डा एसए क्लब सहभागी हुनेछन् । यी टोलीबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेल चैत २८ गते त्रिभुवन आर्मी क्लब र झापा–११ बीच हुनेछ । २०७१ सालमा झापा–११ ले आर्मीलाई हराउँदै उपाधि जितेको स्मरण अझै ताजा छ । त्यही भएर उद्घाटन खेललाई विशेष चासोका साथ हेरिएको छ ।
गत वर्ष २०८१ को संस्करणमा भने थ्रीस्टार क्लबले चर्च ब्वाईज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । साविक विजेता थ्रीस्टार भने यसवर्ष प्रतियोगितामा सहभागी नहुने भएको छ ।
गोल्डकप विजेता टिमले ११ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । १५ लाख रुपैयाँसम्मको पुरस्कार राशि रहेको प्रतियोगिता कोरोना महामारीपछि आर्थिक चुनौतीका कारण केही घटाइएको आयोजकले जनाएको छ ।
आयोजक विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाका अनुसार व्यक्तिगत पुरस्कारतर्फ म्यान अफ दी सिरिजलाई ५१ हजार रुपैयाँ र प्रत्येक खेलका उत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच)लाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ । अन्य विधागत पुरस्कारहरूमा पनि जनही २१ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको जानकारी लामाले दिए ।
२०१८ सालदेखि ‘महेन्द्र गोल्डकप’को नामबाट सुरु भएको यस प्रतियोगिताले समयसँगै नाम र स्वरूप परिवर्तन गर्दै आएको छ । यसलाई २०६७ सालपछि ‘विराट गोल्डकप’ का रूपमा पुनःब्रान्डिङ गरेर प्रतियोगिता २०६८ सालदेखि सञ्चालन गर्न थालिएको हो । महेन्द्र गोल्डकपदेखि आगामी विराट गोल्डकप हुँदा प्रतियोगिताको ३८ औं संस्करण सम्पन्न हुनेछ ।
लामो इतिहास बोकेको यस प्रतियोगिताले नेपाली फुटबलको विकास र प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजक विराट गोल्डकप ट्रष्टका महासचिव बिनेश बस्नेतले बताए । आयोजकले यस संस्करणलाई भव्य, सभ्य र सफल बनाउन सम्पूर्ण खेलप्रेमी, स्थानीय, प्रायोजक र सरोकारवाला सबैलाई सहयोगका लागि आह्वान गरेको छ ।
विराट गोल्डकपको नाममा विराटनगरमा हुन लागेको फुटबल महोत्सवले फेरि एकपटक खेलकुदप्रेमीहरूलाई रात्रिकालीन रोमाञ्चक प्रतिस्पर्धाको आनन्द दिने बस्नेतको भनाइ छ ।