.

नेपालमा पानीमा डुबेर बर्सेनि ३९६ जनाको मृत्यु

विराटनगर ,१० साउन । नेपालमा वार्षिक औसतमा ३९६ जनाको पानीमा डुबेर मृत्यु हुने गरेको छ । नेपाल प्रहरीका अनुसार यसमध्ये ५३।७ प्रतिशत २५ वर्ष मुनिको उमेर समूहका रहने गरेको तथ्यांक रहेको प्रहरीको भनाइ छ । 

अधिकांश घटना पौडी खेल्ने क्रममा, नुहाउने क्रममा, खोलारनदी तर्ने क्रममा एवं आत्महत्याका कारण हुने गरेका छन् । 

 नेपालमा धेरैजसो असारदेखि असोज महिनासम्ममा पानीमा डुबेर वा पानीजन्य विपद्का कारण धेरैको ज्यान जाने गरेको छ ।

पानीमा डुबेर हुने मृत्युलगायतका घटना रोकथामका लागि स्थानीयस्तरदेखि नै जनचेतनामा जोड दिनुपर्नेमा राष्ट्रिय विपद् जोखिम न्यनूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

यसैबीच, बालबालिका पानीमा डुब्ने घटना रोकथामका लागि अभिभावकले विशेष ध्यान दिनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

वर्षायाममा वा आँधीबेरी आउने बेलामा खोला, नदी, ताल आदिमा बाढी आउन सक्ने भएकोले यस्तो अवस्थामा बालबालिका तथा सबै उमेरका व्यक्तिले शतर्कता अपनाउनु पर्ने मन्त्रालयले बताएको छ । 

बालबालिकाहरू पानीमा हुँदा वा पानी वरपर हुँदा अभिभावकहरूले उनीहरूको निरन्तर निगरानी गर्नुपर्नेमा मन्त्रालयको जोड छ । 

“पौडी खेल्ने बेलामा वा अरु कुनै पानीमा गरिने गतिविधिहरू गर्दा बालबालिकाका साथै सबै उमेरका पौडी खेल्न नजान्ने व्यक्तिहरूले लाइफ ज्याकेट अनिवार्य प्रयोग गर्नुपर्छ,” मन्त्रालयले भनेको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया