\पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भइरहेको निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ । नदीमा पानीको सतह बढेसँगै कोसी ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ।
सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार गएराति कोसी ब्यारेजमा पानीको बहाव १ लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । पानीको बहाव बढ्दो क्रममा रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका कुल ५६ ढोकामध्ये २० वटा ढोका खोलिएको छ। कोसी ब्यारेजमा ५२ वटा मुख्य ढोका र दुईवटा नहरका गरी कुल ५६ वटा ढोका रहेका छन् ।
पानीको बहाव बढेर खतराको तह नजिक पुग्न थालेपछि कोशी ब्यारेजको कन्ट्रोल रुमले खतराको सङ्केत स्वरूप रातो बत्ती बालेको छ। साथै, ब्यारेजमा रातो झण्डासमेत फहराइएको प्रहरीले जनाएको छ ।
वर्षा जारी रहेकाले नदीको सतह अझै बढ्न सक्ने अनुमान गरिएको छ । पानीको बहाव बढेसँगै कोसी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
यसैबिच
आज देशका विभिन्न ५ जिल्लामा बाढीको उच्च जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेतसहित आसपासका जिल्लामा भई बहने नदीमा आकस्मिक बाढीको उच्च जोखिम छ ।
यस्तै आज अरू विभिन्न जिल्ला पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीमा पानीको बहाव उल्लेख बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ । यी सबै क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।