विराटनगर ,१० साउन । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगीको संक्रमण तीब्र गतिमा फैलिइरहेको छ । धरानमा हालसम्म डेंगीको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगिसकेको छ । धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताले हालसम्म धरानमा चार जनाको अस्पतालमा र २ जनाको डेंगीकै कारण मृत्यु भएको मेहताले बताए । धरानमा वैशाख अन्तिमदेखि डेंगीको प्रकोप बढ्न थालेको हो । अहिलेसम्म विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको रिपोर्ट अनुसार १९ सय ११ जनामा संक्रमण देखिएको छ । धरान उपमहानगरपालिकाले डेंगी नियन्त्रढाको लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायाको रुपमा लिएर काम अगाडि बढाइरहेको छ । धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको छ । डेंगी तीब्र गतिमा फैलिन थालेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगुको छुट्टै १ सय ५० जनासम्म अट्ने गरी उपचारको व्यवस्था गरिएको छ ।
कोशी प्रदेशभरमा २ हजार भन्दा बढी डेंगीका संक्रमित रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । जसमध्ये सुनसरी, संखुवासभा, झापा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा र ताप्लेजुङमा पनि डेंगी संक्रमितहरु देखिएका छन् ।
सन् २०२३ को जनवरीयता नेपालमा डेंगी संक्रमितको संख्या चार हजार नाघेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकअनुसार जनवरीयता जुलाई २४ सम्म संक्रमितको संख्या चार हजार २८९ पुगेको छ । ६९ जिल्लामा डेंगी देखिएकोमा सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएका छन् । गत वर्षजस्तै डेंगुको अवस्था भयावह हुन नदिन सरकारले डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना तयार पारेको छ । जसमा तीनै तहका सरकारको समन्वयमा डेंगीको निगरानी प्रणाली चुस्त बनाउने, परीक्षण र उपचारको पूर्वतयारी बलियो बनाउनेजस्ता योजना बनाइएको छ ।