.

मोरङमा च्याउ खाँदा एकै परिवारका तीनसहित चारजना बिरामी


विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–६ औलानपुरमा जंगली च्याउ खाँदा चारजना बिरामी परेका छन् । बिरामी हुनेमा दुई नाबालिकासमेत छन् ।  विषालु च्याउको तरकारी बनाएर खाँदा बिरामी परेकाहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 


बूढीगंगा–६ का २९ वर्षीय इन्द्रकुमार लिम्बूको घरमा मंगलबार राति च्याउको तरकारी बनाएर खाएकाहरूमा वान्ता हुने,छाति दुख्नेलगायतका समस्या देखा परेको थियो । प्रहरीका अनुसार च्याउ खाँदा इन्द्रकुमारसहित उनका ८ र ७ वर्षका छोरीहरू तथा छिमेकी ३८ वर्षीया सीता लिम्बू बिरामी परेका छन् । 


बिरामी परेकामध्ये इन्द्रकुमारको अवस्था मध्यम र अरूको सामान्य छ । घरमा पकाएको च्याउ खाएको भएपनि इन्द्रकुमारकी पत्नीको स्वास्थ्यमा भने समस्या देखिएको छैन । सीताको स्वास्थ्यमा बुधबार बिहानबाट मात्रै समस्या देखिएको थियो । त्यसलगत्तै उनलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया