.

अधिवक्तादेखि सांसदसम्म सुहाङ नेम्वाङ ,नेम्वाङको संसद् यात्रा शुरु


  विराटनगर ,१८ बैशाख । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा शुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधि सभा सदस्यको उपचुनावमा विजयी भएसँगै सुहाङको संसद् यात्रा शुरु भएको हो ।

एमालेका तत्कालीन उपाध्यक्षसमेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपचुनावमा बुबाको विरासत जोगाउँदै सुहाङको संसद् यात्रा प्रारम्भ भएको हो । नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बन्नुभएको हो । सुहाङले २७ हजार सात सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार नौ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।

सुहाङको जन्म २०४६ साल फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा काठमाण्डौमा भएको थियो । काठमाण्डौको ग्यालेक्सी पब्लिक स्कुलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन शुरु गर्नुभएका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा ९एसएलसी० उत्तीर्ण गर्नुभयो । उहाँ ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अस्ट्रेलिया जानुभयो । त्यहाँ दुई वर्ष बसेर उहाँ नेपाल फर्कनुभयो ।

स्वदेश फर्केर उहाँले काठमाण्डौ स्कुल अफ लबाट कानुन सङ्कायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गर्नुभयो । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाउनुभएको थियो । सुहाङ पछिल्लो समय काठमाण्डौको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एन्ड रिसर्च सेन्टर’ स्थापना गरी  वकालत गर्दै आउनुभएको थियो ।

सुहाङ राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्नुहुन्थ्यो । स्कुले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताउनुभएका सुहाङ अस्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुन थाल्नुभयो ।

उहाँले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गर्नुभयो । पछिल्लो समय उहाँ त्यही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गर्नुभएको थियो । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेसाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका हुनुहुन्छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाउनुभएको थियो । यद्यपि उहाँ राजनीतिक गतिविधिबाट भने टाढै हुनुहुन्थ्यो । सुहाङले यसअघिसम्म कुनै पनि चुनावमा मतदानसमेत गर्नुभएको थिएन । आफ्नै बुबा उम्मेदवार हुँदासमेत मतदाता नामावलीमा नाम दर्ता नभएकाले उहाँले मतदान गर्न पाउनुभएको थिएन ।

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए पनि खासै रुचि नभएका सुहाङलाई परिस्थितिले सांसद बनायो । तर बुबा सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनपछि उहाँलाई पार्टीले टिकट दिलाएर सांसद बनाएको हो । सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो । नेकपा ९माओवादी केन्द्र०, नेकपा र नेपाल परिवार दलको समर्थन पाउनुभएका नेम्वाङले कम उमेरमा नै संसद् छिर्ने अवसर पाउनुभएको छ ।

सालिन एवम् बौद्धिक नेताको छवि बनाउनुभएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रूपमा सुहाङले बुबाको विरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ ।

आफू विजयी हुँदै गर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकको साझा भएको उहाँको भनाइ छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उहाँको भनाइ छ । उहाँ आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउनुहुन्छ । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उहाँको भनाइ छ ।

अहिले सुहाङ एमालेको कानुन विभागको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँका एक दाजु, एक दिदी र एक बहिनी हुनुहुन्छ । उहाँको दिदी सुसाङ पेसाले डेन्टल सर्जन हुनुहुन्छ भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर गर्दै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया