कोशी प्रदेश सभाको बैठक आज (सोमबार) दिउँसो १ बजे देखि सुरु भएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम माथि छलफल भई रहेको छ।प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्काद्वारा जारी दैनिक कार्यसूची अनुसार, गत जेठ ७ गते प्रदेश प्रमुखले प्रदेश सभामा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममाथि आजको बैठकमा निरन्तर छलफल हुनेछ।
त्यस्तै
कोशी प्रदेशसभाको सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । दिउँसो प्रदेशसभाको बैठक सकिएलगत्तै समितिको बैठक बस्ने तयारी भएको सभापति राजन किरातीले जानकारी दिए ।
आजको बैठकमा मुख्य गरी महालेखा परीक्षकको कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनका बारेमा छलफल हुने कार्यसूची रहेको छ । महालेखाले औँल्याएका त्रुटी, बढ्दो बेरुजु र वित्तीय अनुशासनका विषयमा समितिले सरकारसँग जवाफ माग्ने र आवश्यक निर्देशन दिने तयारी गरेको छ ।
यसैगरी, समितिले केही समयअघि कोशी प्रदेशका तीन जिल्लाहरू ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुमा सञ्चालित विभिन्न विकास आयोजनाहरूको स्थलगत अनुगमन गरेको थियो । ती आयोजनाहरूको अवस्था, कामको गुणस्तर र ढिलासुस्तीका विषयमा तयार पारिएको अनुगमन प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुने सभापति किरातीले बताए ।