.

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा रोक लगाउने सरकारको निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा रोक लगाएको छ ।

शिक्षामन्त्री सस्मित पोखरेलले आगामी वैशाख १ गतेदेखि यस्ता कक्षाहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्नुभएको हो । विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सको नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका कार्यक्रमहरु बन्द गर्ने निर्णय भएको मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ समेत पर्न जाने मन्त्रालयको जनाएको हो। यी कार्यक्रमहरू सञ्चालन भए अनुगमन गरी प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिने पनि मन्त्रालयले जनाएको छ ।

यसैगरि

सरकारको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीलाई स्वागत गर्दै ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग गरिएको छ ।

युनियनका अध्यक्ष राजु ओलियाले सूचना जारी गर्दै सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन आइतबारदेखि भङ्ग गरिएको जानकारी गराउनुभएको हो । शासकीय सुधारको १२ नम्बर बुँदामा ‘सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउने’ भनिएको छ ।

सोही उद्देश्यका लागि निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा सबै राष्ट्रसेवकले कुनै पनि दल, समूह वा स्वार्थ केन्द्रसँगको प्रत्यक्ष वा अप्रत्यक्ष आबद्धताबाट मुक्त भई कार्यसम्पादन गर्न अनिवार्य गर्ने र उल्लङ्घन भएमा प्रचलित कानून बमोजिम कडाइका साथ विभागीय कारबाही गर्ने समेत चेतावनी दिइएको छ ।

साथै, सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरी अवाञ्छित हस्तक्षेप र अनौपचारिक दबाबको अन्त्य गर्दै निर्णय प्रक्रिया तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने र यसका लागि आवश्यक कानूनी व्यवस्था विशेषतः संघीय निजामती सेवा विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने सरकारको योजना रहेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया