.

कोशी प्रदेशभर फैलिँदै डेंगु , डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुग्यो, ६ हजार ४ सय संक्रमित, सोलुखुम्बु र ओखलढुंगाबाहेक सबै जिल्लामा डेंगु संक्रमित फेला

विराटनगर ,२२ साउन  । सुनसरीको धरानलाई इपिसेन्टर बनाएर तीब्र गतिमा फैलिरहेको डेंगु संक्रमण कोशी प्रदेशभर फैलिँदै गएको पाइएको छ । हालसम्म कोशी प्रदेशमा डेंगु संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोशी प्रदेश जनस्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारी अनुसार डेंगु संक्रमणबाट मृत्यु हुने सबै सुनसरी धरानका हुन् । यस्तै हालसम्म कोशी प्रदेशका १२ जिल्लामा डेंगुको संक्रमित देखिएका छन् । निर्देशनालयकी जनस्वास्थ्य अधिकृत विभेचना चौंलागाईले दिएको जानकारी अनुसार हालसम्म कोशी प्रदेशभरमा ६ हजार ४६४ जनामा डेंगुको संक्रमण देखिएको छ ।

सबैभन्दा धेरै प्रभावित बनेको सुनसरी जिल्लामा मात्रै डेंगु संक्रमितको संख्या ४ हजार ५५८ पुगेको छ । यस्तै दोस्रो स्थानमा रहेको मोरङमा डेंगु संक्रमितको संख्या ९८१ रहेको छ । हालसम्म ताप्लेजुङमा ११, पाँचथरमा ५, इलाममा २५, झापामा ४५४, उदयपुरमा १६१, धनकुटामा १०८, भोजपुरमा ८४, संखुवासभामा ७८, तेह्रथुममा ५८ र खोटाङमा ४ जनामा डेंगु देखिएको छ ।

यसबीच डेंगुको इपिसेन्टर बनेको सुनसरीको धरानमा मात्रै डेंगु संक्रमितको संख्या ३ हजार २१३ पुगेको छ । धरान उपमहानगरपालिकाको जनस्वास्थ्य अधिकृत उमेश मेहताले दिएको शनिबारसम्मको तथ्यांक अनुसार परीक्षण गरिएका ५ हजार २४२ मध्ये ६१ प्रतिशतमा डेंगु देखिएको हो । शनिबारमात्रै १७० जनामा गरिएको परीक्षणका क्रममा डेंगु संक्रमितको संख्या ५० प्रतिशत देखिएको मेहताले जानकारी दिए ।

शुक्रबार भने परीक्षण गरिएका १ सय ७२ जनामध्ये १३४ जनामा डेंगु देखिएको थियो । यो ७८ प्रतिशत हो । परीक्षणका क्रममा देखिएको यो नतिजाले डेंगु संक्रमण तीब्र भइरहेको देखाएको छ । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ । डेंगी तीब्र गतिमा फैलिन थालेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगुको छुट्टै उपचारको व्यवस्था गरिएको छ । जहाँ दिनदिनै उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको छ । यस्तै धरानमा डेंगु, मलेरिया र कालाजार रोग सार्न सक्ने खालको लामखुट्टै पाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया