बाजुरामा भाइरल ज्वरोबाट दुईजनाको मृत्यु, सिंगो गाउँ नै प्रभावित
८ असोज २०८०, सोमवार
0
प्रतिक्रिया
विराटनगर , ८ असोज । खप्तड छेडेदह गाउँपालिका २ माटेसागुमा भाइरल ज्वरोबाट दुईजनाको मृत्यु भएको छ।
४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको मृत्यु भएको हो । बुढाको चार दिन पहिला र शाहीको आइतबार राति मृत्यु भएको हो।भाइरल ज्वरोबाट प्रभावित दुवैजनाको मृत्यु भएको स्थानीय गणेशबहादुर शाहीले बताए।गाउँका सबै घरमा बिरामी परेका छन् ।
भाइरल ज्वरोले पुरै गाउँ नै प्रभावित भएको शाहीले अन्नपूर्णलाई जानकारी दिए। गाउँमा भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको छ।
उपचारका लागि पहल गर्दा पनि कतैबाट स्वास्थ्यकर्मी नआएको स्थानीयले बताएका छन्। ।बिरामीमा १ सय ३ डिग्रीमाथि ज्वोरो आउने, खोकी लाग्ने, श्वास फुल्नेजस्ता लक्षण देखा परेको स्थानीयले बताएका छन् ।
गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टिम पठाउन लागेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताएका छन् ।
खप्तड छेडेदह गाउँपालिकाबाट दुईजना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यलयबाट औषधिसहितको टोलि पठाउन लागेको उनले बताए। भाइरल ज्वरोबाट वृद्धवृद्धा, बालबालिका र दिर्घरोगी सबैभन्दा बढी प्रभावित भएका छन् । वडा तथा पालिकामा पटकपटक जानकारी गराउँदा पनि अहिलेसम्म स्वास्थ्यकर्मी नपुगेको उनले बताए । कसैको घरमा पानी दिने व्यक्तिसमेत नरहेको उनको भनाइ छ।
खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले स्वास्थ्यकर्मी टोलि प्रभावित क्षेत्रमा पठाइसकेको बताएका छन्। ल्याबसहितको टोलि पठाएको र रोगको पहिचान र नियन्त्रण नभए जिल्ला, प्रदेश, संघमा सहयोगको लागि आग्रह गरिने बताए।