नेपाल कृषि अनुसन्धान परिषद् नार्क बाट विकसित भएका प्रविधिहरू किसानसम्म पुर्याउनुपर्नेमा उद्यमी किसान र कृषि वैज्ञानिकले जोड दिएका छन् ।
नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले ललितपुरको खुमलटारमा गरेको उद्यमी किसान र कृषि वैज्ञानिकबीचको अन्तरक्रिया गोष्ठीमा सहभागीले किसानका लागि प्रविधि विकास भइरहेको तर पहुँच पुग्न नसकेको बताएका हुन् । कृषि क्षेत्रमा देखिएका चुनौती, मुख्य बालीमा विकास भएका प्रविधि, अनुसन्धानबाट विकसित नवीनतम प्रविधि तथा किसानका व्यावहारिक समस्याबारे गोष्ठीमा विस्तृत छलफल भएको थियो ।
नार्कका कार्यकारी निर्देशक डा। श्रीमद श्रेष्ठले अहिले धेरै जिम्मेवारी पालिकामा पुगेको र किसानले पालिकामा सम्पर्क गर्न सक्ने बताउनुभयो । अनुसन्धानबाट विकसित प्रविधिहरू किसानसम्म प्रभावकारी रूपमा पुर्याउन आवश्यक रहेको उहाँको भनाइ छ ।
त्यस्तै पशु तथा मत्स्य अनुसन्धानतर्फकी निर्देशक डा। निना अमात्य गोर्खालीले अनुसन्धानका उपलब्धिलाई व्यवहारमा उतार्न किसानको पनि उत्तिकै चासो र सक्रिय आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डा। प्रकाश भट्टराईले किसान र वैज्ञानिकबीचको प्रत्यक्ष संवादबाट कृषिको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो ।
प्राविधिक सत्रमा राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालले मौसम, वातावरण र जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका विषयमा प्रस्तुति राख्नुभएको थियो ।
त्यसैगरी राष्ट्रिय बाली अनुसन्धान केन्द्रका वैज्ञानिकले नार्कबाट विकसित नवीनतम कृषि प्रविधि तथा अनुसन्धान उपलब्धिहरूबारे चर्चा गर्नुभयो ।
सहभागी किसानले खेती तथा पशुपालनमा भोगिरहेका समस्या, उत्पादन लागत, रोग–कीरा व्यवस्थापन, बजार पहुँच तथा जलवायुजन्य चुनौतीबारे समस्या राखेका थिए । अनुसन्धान संस्थाले विकास गरेका प्रविधिलाई अझ प्रभावकारी रूपमा किसानमाझ पुर्याउनुपर्ने देखिएको धेरैजसो किसानले बताएका छन् ।