विराटनगर ,१० साउन ।। कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धब थापाको नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमा बुधबार दोस्रो दिनको सुनुवाई भइरहेको छ ।न्यायाधीशहरु ईश्वर खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा रिटको आज सुनुवाई सकिएर आदेश आउने संभावना रहेको छ ।
रिट निवेदक नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीतर्फको बहस मङ्गलवार नै सकिएको छ । मंगलबारबाट सुरु भएको प्रतिवादीका तर्फको बहस आज पनि जारी रहेकोले बहस सकिएर आदेश आउने देखिएको हो ।
बुधवार खाजा समय अघिसम्म बहस सक्ने तयारी गरिएको अदालत स्रोतले जनाएको छ । बुधवार बिहान ११ः३० देखि १ः०० बजेसम्म प्रत्यर्थीतर्फका थप कानुन व्यवसायीले बहस गरेका छन् र त्यसपछिको खाजा समय सकेर अब केहि बेर पछि सृरु ग्रिने र ३ बजेसम्म रिट निवेदक कार्कीतर्फका कानुन व्यवसायीले जवाफ दिनेगरी पूर्ण इजलासले समय निर्धारण गरेको छ । रिटमा थापाको नियुक्ति बदर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न कार्कीले परमादेशको माग गरेका छन् । असार २२ गते दायर रिटमा मंगलबारबाट पूर्ण इजलासबाट सुनुवाइ भइरहेको छ ।