विराटनगर ,८ साउन ।। विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको हिजो बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरुमाथि कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण हालसम्म पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।
विवरण पेश नगर्ने विद्यालयको नाम महानगरको वेभ साइटमार्फत सार्वजनिकसमेत गरेको छ । एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको संख्या ८९ रहेको मा दर्ता नभएका विद्यालयको संख्यासमेत जोड्ने हो भने महानगरभित्र करिब एक सयको हाराहारीमा संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन् ।
त्यसमध्ये हिजो कार्यालय समयभित्र ६५ वटा विद्यालयले शैक्षिक सत्र २०७९ को छात्रवृत्ति वितरणको विवरण पेश गरेका छन् । सोही शैक्षिक सत्रमा २७ वटा विद्यालयले अझै विवरण पेश गरेका छैनन् । त्यस्तै २०८० का लागि ५५ वटा विद्यालयले विवरण पेश गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश खड्काले जानकारी दिए । खड्काका अनुसार २०८० का लागि ३७ वटा विद्यालयले विवरण पेश गर्न बाँकी रहेको छ ।
यसैगरी शैक्षिक सत्र २०८० मा कक्षा ११ को छात्रवृत्ति व्यवस्थापनसम्बन्धी परीक्षा महानगर आफैंले लिने तयारी गरेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिए । बैठकमा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, छात्रवृत्ति व्यवस्थापन समितिका सदस्य सुरज न्यौपाने, अञ्जु दाहाल, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, हिसानका अध्यक्ष अमित ढकाललगायतको उपस्थिति थियो ।