.

आज ४१ औं बीपी स्मृति दिवस मनाइँदै

विराटनगर, ६ साउन  ।प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गर्दै शनिबार मुलुकभर विभिन्न कार्यक्रम गरी ४१ औं स्मृति दिवस मनाईदैछ ।बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, भातृ संस्था र बीपी संग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्दैछ । बीपी स्मृति दिवसका अवसरमा शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सुन्दरीजलमा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम राखेको छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम संवत २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विक्रम संवत २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

विक्रम संवत २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । १ महिनापछि सिंहदरवारबाट लगेर सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । विक्रम संवत २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । विक्रम संवत २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका थियो ।

उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान र्पयाउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’,‘मोदी आइन’,‘हिटलर र यहुदी’,‘सुम्निमा’,‘नरेन्द्रदाई’,एवं ‘बाबु, आमा र छोरा’ गरी चर्चित ६ उपन्यास प्रकाशित छन् ।यसैगरी २ कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’,हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया