विराटनगर , २२ साउन । मोरङको कानेपोखरी गाउँपालिका–५ मा आज सोमबार बिहान मोटरसाइकल चालक नालीभित्र मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार कानेपोखरी–५ का ३० वर्षीय शिवचन्द्र यादवको शव नालीभित्र भेटिएको हो ।
यादवले चलाएको लु ३७ प ९९४२ नम्बरको मोटरसाइकल पनि नालीभित्रै लडिरहेको अवस्थामा फेला परेको हो । आफैं अनियन्त्रित भएर मोटरसाइकलसहित चालक नालीभित्र खसेको हुनसक्ने प्रहरीको अनुमान छ । यादव बिहान ६ बजेतिर मृत फेला परेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी गराएका हुन् ।
डीएसपी भण्डारीका अनुसार उत्तरबाट पूर्व–दक्षिण जाँदै गरेको अवस्थामा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।
टाउकोमा हेल्मेट नलगाएको अवस्थामा चालकको शव फेला परेको उनले बताए । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।