.

फिदिम दुर्घटनाका घाइते थप एक जनाको बीएण्डसीमा मृत्यु

विराटनगर ,११ साउन ।  पाँचथरको फिदिम नगरपालिका–२ मा दुई दिनअघि भएको सवारी दुर्घटनामा परेकी ताप्लेजुङ मिक्वाखोला–५ पापुङकी इसेटिमा शेर्पाको गएराति मृत्यु भएको छ ।उनको मृत्यु भएसँगै उक्त दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको संख्या ३ पुगेको छ ।

२६ वर्षिया शेर्पाको बीएण्डसी हस्पिटल बिर्तामोडको आइसियु भेन्टीलेटरमा उपचारका क्रममा राति साढे १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । यसअघि सोही दुर्घटनामा फिदिम नगरपालिका–१० की ४० वर्षीया सबिना विश्वकर्माको बीएण्डसीमै मृत्यु भएको थियो भने ताप्लेजुङको मैवाखोला–१ ढुंगेसाँघुका ४५ वर्षीय जितेन्द्रमणिविक्रम वनेमको पाँचथर अस्पतालमा मृत्यु भएको थियो ।

झापादेखि फिदिम जाँदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सी मेची राजमार्गको फिदिम खण्डअन्तर्गत फिदिम–२ सामदिनमा दुर्घटना हुँदा सबिना र जितेन्द्रसँगै १५ जना घाइते भएका थिए । तीमध्ये काठमाडौं, बल्खु घर भएकी मिना लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । फिदिम दुर्घटनाका घाइतेमध्ये ५ जनाको बीएण्डसी र २ जनाको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको डीएसपी कार्कीले जानकारी दिए । त्यस्तै ८ जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया