.

फिदिम दुर्घटनामा थप एकजनाको मृत्यु

झापा, साउन १० । मेची राजमार्गको पाँचथर खण्डमा हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी फिदिम नगरपालिका वडा नं १० याङ्नामकी ३५ वर्षिया सविना विकको उपचारका क्रममा मृत्यु भएको हो । उनको हिजो बेलुका ७ बजेतिर उपचारका क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

दुर्घटनामा ताप्लेजुङ मैवाखोला गाउँपालिका १ ढुङगेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेमको हिजो मृत्यु भएको थियो । उनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे१ज १९४१ नं को ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो । ओरालो बाटोमा ब्रेक नलागेर गाडी भीरतिर खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुर्घटनामा १३ जना घाइते भएका थिए । घाइतेमध्ये बिर्तामोडको बीएण्डसी हस्पिटलमा ६ र बिर्तासिटी हस्पिटलमा २ जनाको उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया