.

लेटाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, ३ जना घाइते

मोरङको लेटाङ नगरपालिका–२ स्थित धोबी चोकमा आइतबार राति मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

आइतबार राति करिब साढे १० बजे लेटाङबाट धोबी चोकतर्फ जाँदै गरेको प्र१–०२–०४१प ५५६२ नम्बरको १२५ सीसीको यामाहा मोटरसाइकलले पैदल हिँडिरहेका दुई जना महिलालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी लेटाङ–२ की ३६ वर्षीया कञ्चन राईको उपचारका क्रममा विराटनगरस्थित आर्या न्युरो अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अर्की पैदलयात्री ३५ वर्षीया सुचन राई घाइते भएकी छिन् । उनको हात र खुट्टामा चोट लागेको र आर्या न्युरो अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ ।

मोटरसाइकल चालक इलाम नगरपालिका–२ घर भई हाल लेटाङ–२ बस्ने २६ वर्षीय सुशील मगर र मोटरसाइकलको पछाडि सवार २५ वर्षीय मौसम मल्ल ठकुरी पनि घाइते भएका थिए । उनीहरूको लेटाङस्थित राजारानी मेडिकलमा प्राथमिक उपचार गरिएको थियो । सामान्य चोटपटक लागेका उनीहरू दुवै जना उपचार पश्चात् डिस्चार्ज भई हाल इलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया