विराटनगर , ३ साउन ।कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ । जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले राष्ट्रिय वाणिज्य बैंकबाट जरिवाना तिर्न सक्ने गरी व्यवस्था गरिएको छ ।प्रदेशमा पहिलोपटक सोमबारदेखि बैंकबाट ट्राफिक जरिवाना भुक्तानीको व्यवस्था मिलाइएको प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले जानकारी दिए ।
यसअघि नगदी रसिदबाट हुँदै आएको भुक्तनीलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउन सुनसरीको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बैंकमार्फत जरिवाना तिर्न मिल्ने व्यवस्था मिलाएको हो ।पहिलो चरणमा प्रदेशका मुख्य शहरहरु विराटनगर, धरान, इटहरी, बिर्तामोड र दमक क्षेत्रमा बैंकिङ प्रणाली लागू गरिएको छ । नियम उल्लंघन गरेवापत ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जीमा उल्लेख गरिएको राजस्ववापतको रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत दाखिला गरेपछि मात्रै कारबाहीका लागि खिचिएका कागजपत्र फिर्ता गरिने जानकारी महतोले दिए ।
यस्तै सवारी चालकले नियम उल्लंघन गरेको अभिलेख व्यवस्थित गर्न ‘ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम’समेत लागू गरिएको छ ।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ बमोजिम प्रत्यायोजित अधिकार प्रयोग गरेर बैंकमार्फत जरिबाना भुक्तानी एवं ट्राफिक नियम उल्लंघनको अभिलेख व्यवस्थित बनाउने प्रणालीलाई प्रदेशका अन्य स्थानमा विस्तार गर्दै लगिने उनको भनाइ छ ।