.

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्दै , गृह मन्त्री र नवप्रवर्तन मन्त्री नियुक्तिका लागि प्रधानमन्त्रीको सिफारिस

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री शाहले गृह र नवप्रवर्तन मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नाम सिफारिस भएको जानकारी दिइन् ।

गुरुङले आफ्नो सम्पत्ति विवरणबारे प्रश्न उठेपछि गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनको सम्पत्तिसम्बन्धी विवरण अध्ययन तथा छानबिन गर्न गठन गरिएको समितिले हालै प्रतिवेदन बुझाएको थियो। छानबिन समितिले गत जेठ २२ गते प्रधानमन्त्री शाहलाई बुझाएको प्रतिवेदनमा गुरुङको सम्पत्तिमा कुनै गम्भीर कैफियत वा अनियमितता नदेखिएको निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले गुरुङबारे छानबिन गर्न पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

गएको वैशाख २८ गतेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य हुनुहुन्थ्यो ।

समितिले प्रतिवेदनमार्फत गुरुङलाई ‘क्लिनचिट’ दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरुङलाई आजै गृहमन्त्रीमा शपथ गराउने तयारी छ यो संगै गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् ।  उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै सरकारले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । निजामती सेवा १६औँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

सरकारले तल्लो अरुण जलविद्युत् आयोजना, लोवर न्यादी खोला जलविद्युत् आयोजना, हुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया