प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचत डोलप्रसाद (डीपी) अर्यालले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो वैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएका अर्यालले आजै शपग ग्रहण गरी कार्यभार सम्हाल्ने भएका हुन् ।
सभामुख अर्यालले आज दिउँसो २ः३० बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । शपथ ग्रहण लगतै अर्यालले कार्यकक्ष पुगेर कार्यभार सम्हाल्ने भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
आजको प्रतिनिधिसभा वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको सभामुखमा अर्याललाई सभामुखमा प्रस्ताव गरेका थिए । सिंहदरबारको बहुउद्देश्यीय हलमा बसेको प्रतिनिधिसभाको दोस्रो वैठकमा लामिछानेले अर्याललाई गरेको सभामुख प्रस्तावमा रास्वपा सांसद सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन जनाएका थिए । अर्यालले चैत २० गते सभामुख पदका लागि आफ्नो नाम दर्ता गराएका थिए ।
यस्तै
राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लिला भण्डारी सर्वसम्मत चयन हुने भएकी छन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच जुटेको सहमति बमोजिम एमालेकी भण्डारीले अहिले मनोनयन दर्ता गर्दैछिन् ।
‘दलहरूबीच जुटेको सहमतिअनुसार हामीले लिला भण्डारीलाई अगाडि बढाउँदै छौँ। अरु दलहरूले समिति सभापति लिने कुरा भएको छ,’ एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले बताए ।