.

ओली पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता

नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीको गिरफ्तारीलाई ‘गैरकानुनी’ दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। ओलीकी पत्नी राधिका शाक्यले आइतबार सर्वोच्च पुगेर उक्त रिट निवेदन दर्ता गराएकी हुन्।

निवेदनमा ओलीलाई अनाधिकृत र विनाआधार पक्राउ गरी थुनामा राखिएको उल्लेख गर्दै तत्काल रिहाइको माग गरिएको छ। शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीलाई आजै म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी भइरहेका बेला सर्वोच्चमा यो कानुनी चुनौती दिइएको हो।


शनिबार ओलीसँगै नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका थिए। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको सरकारले जनाएको छ।


गृहमन्त्री सुधन गुरुङले आयोगको सिफारिस र अनुसन्धानका आधारमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई नियन्त्रणमा लिइएको स्पष्ट पारेका छन्। सर्वोच्चले यस रिटमाथि सम्भवतः सोमबार प्रारम्भिक सुनुवाइ गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया