.

स्वास्थ्य अवस्थाका कारण ओलीलाई ‘भर्चुअल’ माध्यमबाट अदालत उपस्थित गराइने

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ। स्वास्थ्य अवस्थाका कारण उनलाई भौतिक रूपमा अदालत लैजान नसकिने भएपछि जिल्ला अदालत काठमाडौँले यस्तो व्यवस्था गरेको हो। काठमाडौँ जिल्ला अदालतका रजिस्ट्रार तीर्थराज अधिकारीका अनुसार ओलीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै अस्पतालबाटै भिडियो कन्फ्रेन्सिङमार्फत उपस्थित गराउन लागिएको हो। शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओली हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

शनिबार साँझ र आज आइतबार बिहान गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले उनलाई बाहिर नडुलाउन र अस्पतालमै राखेर उपचार जारी राख्न सुझाव दिएका थिए। सोही सिफारिसका आधारमा प्रहरीले उनलाई अदालत लैजानुको साटो प्रविधिको प्रयोग गरी कानुनी प्रक्रिया अघि बढाउन लागेको हो।

जेनजी आन्दोलनमा भएको दमन र मानवीय क्षतिको आरोपमा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया