राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज (बिहीबार) सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा मंगलबार बहस नसकिएपछि उक्त रिटलाई ‘हेर्दाहेर्दै’ मा राखेर आजका लागि पेशी तोकिएको हो ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरू संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् । महान्यायाधिवक्ता कार्यालयको उक्त विवादास्पद निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आयुष बडाल र युवराज पौडेल ‘सफल’ ले सर्वोच्चमा रिट दायर गरेका थिए ।
महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’ सदर गर्दै लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउन र अन्य दुई गम्भीर प्रकृतिका मुद्दाहरू हटाउन निर्देशन दिएकी थिइन् । आजको सुनुवाइले उक्त प्रशासनिक निर्देशन कानुनसम्मत छ वा छैन भन्ने विषयमा महत्वपूर्ण दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ ।