निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार मङ्गलवार बिहान साढे ८ बजेसम्म कुल १ करोड ३ लाख ४४ हजार ९५२ मत गणना भइसकेको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आफ्नो अग्रतालाई अझ मजबुत बनाउँदै नेपाली कांग्रेसको तुलनामा झन्डै तेब्बर बढी मत प्राप्त गरेको छ।
पछिल्लो विवरण अनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेर सानदार नतिजा निकालेको रास्वपाले समानुपातिकतर्फ ४९ लाख ६७ हजार ४३ मत प्राप्त गरेको छ। हालसम्मको यो रुझान कायमै रहेमा रास्वपाले समानुपातिक प्रणालीबाट मात्रै ५८ सिट थप्ने देखिएको छ। यसले संसदमा रास्वपाको उपस्थिति अत्यन्तै शक्तिशाली हुने निश्चित गरेको छ।
त्यसैगरी प्रत्यक्षमा १८ सिट जितेको नेपाली कांग्रेस १६ लाख ८४ हजार १७५ मतका साथ समानुपातिकतर्फ दोस्रो स्थानमा छ। कांग्रेसले समानुपातिकबाट १९ सिट पाउने सम्भावना छ।
प्रत्यक्षमा ९ सिटमा खुम्चिएको नेकपा ९एमाले० १४ लाख २४७ मतसहित तेस्रो स्थानमा छ, जसले थप १६ सिट प्राप्त गर्न सक्ने देखिएको छ। प्रत्यक्षमा ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले ७ लाख ६१ हजार ६८० मत पाएको छ र उसले समानुपातिकबाट थप ९ सिट पाउने अनुमान गरिएको छ।
यस पटकको निर्वाचनमा नयाँ दलको रूपमा आएको श्रम संस्कृति पार्टीले सबैलाई अचम्मित पार्दै राष्ट्रिय पार्टीको मान्यता पाएको छ। प्रत्यक्षमा ३ सिट जितेको यस पार्टीले समानुपातिकतर्फ ३ लाख ४९ हजार १४० मत पाएको छ, जसबाट उसले थप ४ सिट प्राप्त गर्ने सम्भावना छ।
त्यसैगरी प्रत्यक्षमा एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले ३ लाख २३ हजार ५३५ मतका साथ थ्रेसहोल्ड कटाएको छ र उसले पनि ४ सिट थप्ने देखिएको छ। थ्रेसहोल्ड कटाएका यी दलहरूले अब संसदमा ‘राष्ट्रिय पार्टी’ को हैसियतमा आफ्नो भूमिका निर्वाह गर्नेछन्।