.

मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा रवि लामिछानेको निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ताको माग गर्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका छन्।

सहकारी ठगी प्रकरणमा थुनामा रहँदा नै निवेदन दिएका लामिछानेले हालै धरौटीमा थुनामुक्त भएपछि पुनः पूरक निवेदन दर्ता गराएका हुन्। । लामिछानेले आफूमाथि लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोपहरू राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको जिकिर गरेका छन्।

सहकारीको रकम अपचलनको मुद्दामा मात्रै १० वर्षभन्दा बढी कैद सजाय माग गर्न नमिल्ने भएपछि आफूलाई हिरासतमा राख्ने आधार बलियो बनाउन अन्य गम्भीर आरोपहरू थपिएको उनको दाबी छ। उक्त निवेदन अहिले सहन्यायाधिवक्ताको तहमा अध्ययन र छलफलको क्रममा छ।

पूर्वगृहमन्त्री लामिछानेमाथि कास्की, रूपन्देही र काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ। गोर्खा मिडिया प्रालिको प्रबन्ध निर्देशक रहँदा जीबी राई लगायतसँगको मिलेमतोमा सहकारीको रकम अपचलन गरेको आरोप उनीमाथि छ।

हाल उनी उच्च अदालत बुटवलको आदेशपछि धरौटी र बैंक जमानतमा थुनामुक्त भई अनुसन्धान र अदालती प्रक्रियामा सहभागी भइरहेका छन्। ।महान्यायाधिवक्ता कार्यालयले सहन्यायाधिवक्ता र नायव महान्यायाधिवक्ताको राय आएपछि मात्र यस विषयमा अन्तिम निर्णयका लागि महान्यायाधिवक्ता समक्ष पेस गर्ने तयारी गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया