विराटनगर १२ असार ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले अदालतहरूमा रिक्त दरबन्दी पदपूर्तिप्रति गर्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
आज प्रतिनिधिसभा बैठकमा सम्बन्धित मन्त्रालयको बजेटको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरूङले विभिन्न अदालतमा रिक्त रहेका न्यायाधीशहरूको पदपूर्ति छिट्टै हुने दावी गर्नुभयो।
‘विभिन्न जिल्ला अदालतहरूमा रिक्त दरबन्दी पदपूर्तिप्रति गर्ने विषयमा सरकार गम्भीर छ,’उहाँले भन्नुभयो,‘न्यायपरिषद्को सदस्यको हैसितले मैले पनि पहल गरिरहेको छु।’
मन्त्री गुरूङले छिटोभन्दा छिटो न्यायाधीश नियुक्त प्रक्रियालाई अगाडी बढाइ सक्षम न्यायाधीश नियुक्ति गरी अदालतमा भएको मुद्दाको चापलाई घटाउने बताउनुभयो। जनतालाई छिटोछरितो तरिकाले न्याय प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको उहाँको भनाइ छ।
कानुन सुधारका लागि आवश्यक मस्यौदा तयारी गरी सरोकारवाला निकायसँग राय परामर्शको प्रक्रियामा रहेको उहाँको भनाइ छ।
मन्त्री गुरूङले भन्नुभयो,‘छिटो छरितो न्याय सम्पादन गराउन मुद्दाको व्यवस्थापनको अतिरिक्त कार्यविधि कानुनमा सुधार गरी अदालतको क्षेत्राधिकारको पुनरावलोकन गर्ने,विवाद समाधानका वैकल्पिक उपायहरूको प्रवर्द्धन र प्रोत्साहनको गर्ने विषयमा मन्त्रालयबाट अध्ययन गरी कानुनमा सुधारमा आवश्यक मस्यौदा तयारी गरी सरोकारवाला निकायसँग राय परामर्शको प्रक्रियामा रहेको अवगत गराउन चाहन्छु। सो विधेयकलाई संसदमा पेश गरिन्छ।’
यस्तै, हाल सर्वोच्चलगायत जिल्ला अदालतमा न्यायाधीश अभाव हुँदा न्याय सम्पादन प्रभावित भएको छ।