विराटनगर, २१ साउन । कोशी प्रदेश पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय विराटनगरले दिएको जानकारी अनुसार साउन १८ गतेसम्ममा ६ हजार ६१४ वटा गाईरगोरु र ७२ वटा राँगा भैँसी मरेका छन् । निर्देशनालयका निमित्त निर्देशक डा।पशुपति ढुंगानाका अनुसार कोशी प्रदेशमा हालसम्म २ लाख ३७ हजार ४२१ वटा पशुचौपाया प्रभावित भएका छन् । यस्तै प्रदेशमा हालसम्म १ लाख ३२ हजार ३४९ वटा पशुचौपायालाई खोप लगाइएको छ ।
ढुंगानाका अनुसार पहाडी जिल्लामा लम्पी स्किन रोगको प्रकोप नियन्त्रण भएको छ । तर, झापा, मोरङ र सुनसरीमा भने नियन्त्रण हुन अझै सकेको छैन । ‘अलि अगाडिदेखि नियन्त्रणको प्रयास सुरु गरेको कारण पहाडमा नियन्त्रण भयो,’ ढुंगानाले भने, ‘तराईको झापा, मोरङ र सुनसरीमा रोग सङ्क्रमण र प्रभावित हुने पशुहरूको सङ्ख्या पछिल्लो समय बढ्यो । त्यसकारण नियन्त्रणको प्रयास पनि पछि हुँदा अझै नियन्त्रणमा आइसकेको छैन । नियन्त्रण हुने अवस्थामा छ ।’
उनले लम्पीस्किन रोग नियन्त्रणको लागि खोपको अभाव भने टरेको बताएका छन् । एक महिना अगाडि खोपको अभाव भएको पहाडी जिल्लाका जनप्रतिनिधिहरूले बताएका थिए । ढुंगानाले अहिले भने खोपको अभाव नभएको बताए । सरकारले खरिद गरेर दिन सक्ने अवस्था भने नरहेको उनले बताए । ‘एउटा गाई बिरामी देखियो भने एउटा खोप किन्छु भन्ने अवस्था चाहिँ छैन, किसानलाई अलिक समस्या यही छ,’ उनले भने, ‘एक भाइल खरिद गर्दा २५ वटा खोप किन्नुपर्ने बाध्यता छ । एउटा किसानले एकैपटक यति किनेर खेर फाल्नुपर्ने अवस्था हुन्छ । एकैपटक २५ जना पशुका लागि खरिद गर्नुपर्ने हुन्छ । त्यसका लागि किसानहरू मिलेर मात्रै सम्भव छ ।’ ढुंगानाका अनुसार एउटा खोपको बजार मूल्य १५० रुपैयाँ रहेको छ । खोप भने झापा, मोरङ र सुनसरीका भेटेरीनरी पसलहरूमा पर्याप्त रहेको उनले बताए ।