.

नयाँ बिरामीमध्ये २० प्रतिशतमा क्यान्सर, पुरुषभन्दा महिला बढी

१२ असोज, बिराटनगर । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये २० प्रतिशतलाई क्यान्सर पुष्टि हुने गरेको पाइएको छ  ।


क्यान्सर सतर्कता दिवसका अवसरमा अस्पतालले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ मा उपचारका लागि आएका ३२ हजार ३१४ विरामीहरुमध्ये ६ हजार ४४६ जनालाई क्यान्सर पुष्टि भएको हो ।


क्यान्सर रोग पहिचान हुनेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । अस्पतालका अनुसार सन् २०२२ मा २ हजार ८६८ जना पुरुष र ३ हजार ५७८ जना महिलामा क्यान्सर रोग पुष्टि भएको थियो । सन् २०२१ मा भन्दा सन् २०२२ मा अस्पतालमा नयाँ बिरामीको संख्यामा भने कमी आएको देखिन्छ । सन् २०२१ मा अस्पतालमा ४७ हजार ३४२ नयाँ बिरामी आएकोमा अहिले सो संख्या घटेर ३२ हजार ३ सयमा पुगेको छ । सन् २०२२ मा नयाँ बिरामीको संख्या घटे पनि क्यान्सर पुष्टि हुने बिरामीको संख्यामा भने कमी आएको पाइएको छैन । सन् २०२१ मा ६ हजार ३७ जना नयाँ क्यान्सरका बिरामी थपिएकोमा सन् २०२२ मा ६ हजार ४६३ जना नयाँ बिरामी थपिएका हुन् ।


यस्तै, अस्पतालको समग्र ओपीडीमा भने बिरामीको संख्या घटेको देखिँदैन । अस्पतालमा गत वर्ष सन् २०२२ मा १ लाख ६५ हजार ५० जना बिरामी ओपीडीमा आएका थिए । सन् २०२१ मा १ लाख ६४ हजार ५९५ जना नयाँ तथा पुराना बिरामीहरु ओपीडीमा आएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ । सन् २०२० मा ९० हजार ५७१ जना मात्रै बिरामी ओपीडी आएका थिए । त्यस वर्ष कोभिडका कारणले कम बिरामी आएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया